५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


नायिकाको स्वागत गर्न सेनाका जर्नेल


0
Shares

काठमाडौं, जेठ २ । त्रिभुवन  विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे । अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो ।

सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुंडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकताभन्दा बढी कर्मचारी खटाएको थियो ।

सोनाक्षीलाई स्वागत गर्न सहायक रथी समीर शाही पुगेका थिए। उनी गौरचणस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन् ।  सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको प्रतिष्ठा घटाउने र मनोबल गिरोउने भनी टिप्पणी गरेका छन् ।

एक पूर्वरथीका अनुसार कन्र्सटमा भाग लिन आएकी भारतीय अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरुको कन्र्सटमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिकृतहरुसमेत संलग्न हुनु सैनिक ऐनको उल्लघंन हो ।

‘ऐनलाई नै नमानेर सेनाको तर्फबाट यस्तो कार्य हुनु सम्मानित संस्थाको बदनामीसमेत हो’, ती पूर्वउपरथीले भने, ‘यस्तो क्रियाकलाप गर्दा सेनाको संवेदनशीलता र गरिमालाई ख्याल गर्नुपर्छ । आन्तरिक र बाह्य सुरक्षामा महत्वपूर्ण ध्यान दिनुपर्ने र सेना यस्ता काममा अलमलिनु उचित होइन ।’ -कान्तिपुर दैनिकबाट