५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु


0
Shares

काठमाडौं, जेठ २ ।  आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आजदेखि सुरु गरेको परीक्षा १२ गतेसम्म चल्नेछ ।

परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा सञ्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्तिबाहेक अरुलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजानसमेत निषेध गरिएको छ ।

परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादा विपरीत सामूहिक रुपमा चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ ।

परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारीलगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

यसअघि वैशाख २० गतेबाट शुरु भएको कक्षा १२ को परीक्षा भने हिजोमात्र सकिएको थियो ।