
रसुवा, जेठ २ । नेपालको रसुवागढी र चीनको केरुङ नाकालाई व्यवसायिक रुपमा चालु गर्ने दुई देशको सरकारले निर्णय गरेपछि अहिले यो मार्ग निकै व्यस्त हुन थालेको छ ।
तर बाटोको गुणस्तर खराब हुँदा मालवाहक सवारीसहितका सामानले निकै कष्ट ब्यहोर्नु परेको छ । अझ रसुवागढी नाकाबाट आउने मालवाहक कन्टेनर मूलखर्कको खराब बाटोमा घण्टौ रोकिनुपर्ने बाध्यता त छँदैछ ।
तर अहिले भने उक्त समस्याको समाधानका लागि सडक डिभिजन कार्यालय नुवाकोटले सडक मर्मत थालेको छ ।
भूकम्प र पहिरोले अबरुद्ध सडकको मर्मत थालिएकाले यातायात सञ्चालन गर्ने चालकहरुलाई राहत हुने भएको छ । सवारी दुर्घटना र घण्टौ सवारी हुन थालेसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले तत्काल त्यस क्षेत्रको मर्मत गर्न निर्देशन दिएको हो ।
सडक डिभिजन कार्यालयले ५ करोडको लागतमा मूलखर्क लगायत पासाङ ल्हामु मार्गका अरु बिग्रिएका सडक बर्षात अगावै मर्मत गरिसक्ने जनाएको छ । रसुवागढी नाका हुँदै चिनियाँ सामग्री र पर्यटकसमेत यहि मार्गबाट काठमाडौ प्रवेश गरिरहेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा तेस्रो मुलुकलगायतबाट जाने पर्यटकको चाप पनि हिजोआज बढ्न थालेपछि सडक स्तरोन्नतीमा सरकारको ध्यान गएको हो ।
प्रतिक्रिया दिनुहोस्