
-राजु चौधरी, ईमेज
चितवन, जेठ ३ । चितवनका पत्रकारहरुको सामाजिक अभियान “हामीले नगरे कसले गर्ने” ले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गतसाल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर–७, स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन शनिबार जेठ १ गते समुदायमा हस्तान्तरण गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विद्यालय भवनको उद्घाटन गरे । जिल्ला सदरमुकामबाट उत्तरपूर्वी लोथर गाविसको सिरानमा पर्ने सो गाउँमा सो टोलीले ६ महिना समर र करिब १८ लाख रुपैयाँ खर्च लगाएर विद्यालय भवन बनाएको हो ।
देश विदेशबाट नेपाली तथा विदेशीहरुले संकलन गरी पठाएको रकम संयोजन गरी अभियानले भवन पुनर्निर्माण गरेको अध्यक्ष विनोद रिजालले जानकारी दिए ।
सो ठाउँ पुग्न पूर्वी चितवनको भण्डाराबाट करिब ३ घण्टाको कच्ची सडक छिचोलेपछि ३ घण्टा नै कष्टप्रद उकालो बाटो पार गर्नुपर्छ । धादिङतिरबाट पनि सो ठाउँ पुग्न सकिन्छ । त्यसका लागि चरौंदी बजारबाट स्यादुल हुँदै जानुपर्छ ।
जिल्ला सदरमुकामबाट करिब ७ घण्टा लगाएर सो ठाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी सिंह, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याललगायत सरकारी अधिकारीहरुले विकट क्षेत्रमा आएर पत्रकारको टोलीले गरेको यो प्रयास अनुकरणीय रहेको बताए ।
‘पत्रकाहरु समाचार लेख्न पोख्त हुन्छन्”, प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले भने, “तर, यहाँ सामाजिक काममा पनि उहाँहरु पोख्त देखिनुभयो ।’
उनले विकट क्षेत्रमा यति मेहनत गरेर विद्यालय भवन बनाएपछि गाउँलेले अपनत्व लिएर गुणस्तरीय शिक्षाका लागि मेहनत गर्नुपर्ने बताए । ‘अब तपाईंहरुको पालो आएको छ’, चेपाङ समुदायलाई उनले भने, “बाहिरका मान्छे एक दिन आउँला, केही गरिदिएला तर सधैं यहीं बसेर गर्ने तपाईंहरुले नै हो ।
विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पर्याप्त विद्यार्थी संख्या रहेपनि अहिलेसम्म नि.मा.वि. नबनेको विद्यालयलाई आगामी वर्ष स्तारोन्नतिका लागि सहयोग गर्ने बताए । ‘हरेक हिसाबले निम्न मा. वि. बन्न यो विद्यालय योग्य छ’, उनले भने, “आगामी वर्ष कागज लिएर आउनुस् स्तरोन्नति नहुने कारण छैन ।’
हामीले नगरे कसले गर्ने संस्थाकै अगुवाइमा विद्यालय स्तरोन्नतिको लागि गत शैक्षिक वर्षमा पहल गरिएपनि शिक्षा कार्यालयबाट अनुमति नपाएका कारण प्रक्रिया रोकिएको थियो । २०२६ सालमा स्थापना भएको र हरेक वर्ष २० जनाभन्दा बढी विद्यालय ५ कक्षा उत्तीर्ण भएपनि ६ कक्षा पढ्ने ठाउँ नहुँदा अधिकांश विद्यार्थीले पढाइ छोड्ने गरेका छन् ।
विनोद रिजालको अध्यक्षतामा रहेको यो सामाजिक अभियानमा उपाध्यक्ष नवराज मिश्र, सचिवमा अनिल ढकाल, कोषाध्यक्षमा कल्पना बस्ताकोटी तथा सदस्यत्रयमा विमल खतिवडा, रामकान्त पौडेल र दिपेन्द्र अधिकारी सहभागी छन् । संस्थापक अध्यक्ष राजेश घिमिरे भने हाल जापान छन् ।
कार्यसमिति पदाधिकारीमध्ये बस्तोकोटी बैंकर हुन् भने बाँकी सबै पत्रकार । गतवर्ष वैशाख १२ गते भूकम्प गएपछि तत्कालीन राहतका लागि संयोजन गर्ने अभियानका रुपमा अघि बढेका उनीहरुले गत साउन ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा संस्था दर्ता गरेका थिए । त्यसपछि समाज कल्याण परिषद्मा समेत दर्ता गरी शिक्षा विभागबाट विद्यालय भवन बनाउन अनुमति लिएको अध्यक्ष रिजालले बताए ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा चेपाङ अगुवा झ्यापुराम चेपाङले वर्षौंसम्म सरकारी अधिकारीको बाटो हेरेर बस्दा पनि पूरा नभएको सपना अहिले पूरा भएको बताए । राष्ट्रिय अनुसन्धान उपनिर्देशक माधवप्रसाद तिमल्सिना, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख विदुर खड्कालगायतले गाउँलेलाई शिक्षा आर्जनमा ध्यान दिन आग्रह गरे ।
भवन निर्माणका लागि सबैभन्दा बढी चितवन सहायता कोष (क्याट) बेल्जियमले सहयोग गरेको छ । क्याटमार्फत प्रभा न्यौपाने र रेणुकान्त न्यौपानेले ७ लाख ५० हजार रुपैयाँ रकम सहयोग गरेका थिए । सो रकम विद्यालयको एक कोठा बनाउन खर्च गरिएको कोषाध्यक्ष कल्पना बस्ताकोटीले जानकारी दिइन् ।
त्यस्तै जापान प्रतिनिधि दीपक नेपालले संकलन गरेको ५ लाख २७ हजार १ सय १८१, अमेरिका प्रतिनिधि रामचन्द्र बस्ताकोटीले संकलन गरेको १ लाख ६ हजार ८४८, फ्रान्स प्रतिनिधि किशोर आचार्यले संकलन गरेको १ लाख २ हजार ४५५, छोरी परियोजना बेल्जियमले दिएको १ लाख, महेन्द्र सुवेदीले ६० हजार, कुशल श्रेष्ठले ४० हजार, प्रकृति इन्टरनेशनल जापानले ३१ हजार, रिषेन्द्र भुषालले २७ हजार, सिरियाली नागरिक मोहम्मद जोहाले १३ हजार ४३५, माया कार्कीले १० हजार सहयोग गरेको बस्ताकोटीले जानकारी दिइन् । त्यस्तै देश विदेशमा अभियानको लोगो अंकित टिसर्ट बिक्रीबाट २ लाख ८ हजार ५४७ रुपैयाँ संकलन भएको छ । ती सबै विद्यालय भवनको ताम्रपत्रमा टाँसिएका छन् ।
सहयोगीलाई सम्मान
कार्यक्रममा विद्यालय भवन निर्माण कार्यमा सहयोग गर्नेहरुलाई सम्मानित गरिएको छ । सो क्रममा २०२६ सालदेखिकै अध्यक्ष चेपाङ अगुवा झ्यापुराम चेपाङ, प्रधानाध्यापक अतिबल चेपाङ, संस्थाका संस्थापक अध्यक्ष राजेश घिमिरेका लागि बाबु घनकान्त घिमिरे, जापान प्रतिनिधि दीपक नेपालका लागि आमा टीकाकुमारी नेपाल र अमेरिका प्रतिनिधि रामचन्द्र बस्ताकोटीका लागि दिदी पार्वती न्यौपानेलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरियो । बाँकी सहयोगी तथा दाताहरुलाई आगामी कार्यक्रममा सम्मान गर्ने सचिव अनिल ढकालले जानकारी दिए ।
थप सहयोग घोषणा
विद्यालय हस्तान्तरण समारोहमै उपस्थित समाजसेवीहरुले सहयोग घोषणा गरे । कार्यक्रममा अतिथिका रुपमा उपस्थित चितवन मेडिकल कलेज (सीएमसी) का अध्यक्ष डा. हरिश्चन्द्र न्यौपानेले विद्यालयलाई आवश्यक पर्ने फर्निचर तथा ह्वाइट बोर्ड र चाहिएजति मार्कर सहयोग गर्ने घोषणा गरे ।
चितवन मानव सेवा आश्रमका अध्यक्ष ममता न्यौपानेले गाउँमा मेधावी एक विद्यार्थीलाई आवाससहित पढाइ खर्च सहयोग गर्ने प्रतिबद्धता जनाइन् । त्यस्तै युवा व्यवसायी दाताराम घिमिरेले यही शैक्षिक वर्षदेखि नै लागू हुने गरे कक्षा पाँच उत्तीर्णमध्ये सर्वोत्कृष्ट विद्यार्थीलाई त्यसपछिको शिक्षाका लागि बजार क्षेत्रमा आवासीयरुपमा पढाइदिने घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्