
काठमाडौं, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पूरा भएको छ ।
वि.सं.२०५० साल जेठ ३ गतेका दिन चितवनको दासढुंगामा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको मृत्यु भएको थियो । पोखरामा एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।
निकै रहस्यमय मानिएको उक्त दुर्घटनाको विषय राजनीतिक लाभहानीका लागि खुबै प्रयोग गरिए पनि दुई दशक बित्दासम्म यथार्थ भने पत्तो लाग्न सकेको छैन । दुर्घटनामा जीप चालक अमर लामा जिवित रहेको र निकै पछि उनको पनि हत्या गरिनुले आशंका गर्नेहरुलाई बल मिलेको हो ।
भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रति दिवस मनाउने गरेको छ । यसक्रममा एमालेले आज पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम गरेको छ ।
स्मृति दिवसको कार्यक्रम राजधानी र दासढुङ्गालगायत मुलुकका विभिन्न ठाउँमा आयोजना गरिने एमालेले जनाएको छ ।
विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेकै बेला नेपालमा बहुदलीय जनवादको विचार ल्याएर मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई जोगाएको चर्चा हुने गरेको छ ।
यही सिद्धान्तको पदचापमा अहिले एमालेअतिरिक्त अरु नेपाली कम्युनिष्ट दल पनि आइपुगेका छन् ।
विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको हो ।
उनी कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित थिए । तात्कालीन समयमा नेता भण्डारीले दिएका भाषण र विचार निकै चर्चित थिए ।
प्रतिक्रिया दिनुहोस्