
काठमाडौं, जेठ ३ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनको अपमान गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले मधेसी जनताको अपमान हुने गरि अभिव्यक्ति दिदैं आएका कारण पनि मधेस आन्दोलन नरोकिएको बताए ।
सोमबार ईमेज एफएमसँग कुरा गर्दै कर्णले आन्दोलन रहर नभएर बाध्यता बताएको बताए । यतिबेला मधेसी जनतामात्र होईन, आदिवासी जनजातिहरु समेत केपी ओली प्रवृत्ति विरुद्धमा आन्दोलित भएको उनले दावी गरे ।
कर्णले सरकारी वार्ता टोलीका संयोजक कमल थापाले आफ्नो हैसियतबाट मधेस आन्दोलन सम्बोधन हुन नसक्ने बताउदै शीर्ष नेतालाई गुहार्दासमेत तीन दलका शीर्ष नेताहरु चुप लागेर बस्नु रहस्यमय भएको बताए । तीन ठूला दल मधेस आन्दोलनका प्रति उदासीन भएको दावी गर्दै कर्णले तीन दल लोकतान्त्रिक अभ्यासबाट बाहिर रहेको बताए ।
उनले संघीयताको जननी मधेस आन्दोलन भएका कारण तीन ठूला दलको निरंकुशतालाई मधेसी जनताले नसहने बताए । आन्दोलन मधेसको मात्र नभएर सिंगो देशकै बनेको कर्णको दाबी छ ।
उनले तीन ठूला दल दिल्ली पुगेर आउँदा कसैलाई चासो नहुने तर मधेसी दलहरुले दिल्लीको नाम लिनासाथ कोकोहोलो मच्चिने गरेको बताए । भारतीय नागरिकसँग मधेसी जनताको अनुहार मिलेकै भरमा भारतीयजस्तो व्यवहार गर्ने संस्कारलाई चिर्न आन्दोलन गर्नु परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्