
लन्डन, जेठ ३ । संसारमा अनेक जीव छन् तर ती जीवमध्ये अधिकांशले आफ्नो प्रजातिको हत्या गर्दैनन् । मानिस र चिम्पान्जीमात्र यस्ता प्राणी हुन् जसले आफ्नै प्रजातिको हत्या गर्दछन् ।
आखिर किन मानिस र चिम्पान्जीले आफ्नै प्रजातिको हत्या गर्दछन् ? प्रश्न उठ्नु स्वाभाविक हो ।
ब्रिटिश मानवशास्त्री रिचर्ड रेंघमका अनुसार चिम्पान्जी प्रायः आफ्नो प्रजातीलाई खोजी–खोजी युद्ध गर्दछन् । छिमेकमा बस्ने अन्य चिम्पान्जी खोजेर युद्ध गर्ने र ज्यान लिने घटना चिम्पान्जीका लागि सामान्यजस्तै हो ।
रेंघमका अनुसार चिम्पान्जीको आ–आफ्नो क्षेत्र हुन्छ । प्रायः उनीहरु आफ्नो सीमा क्षेत्र नजिकै गएर निगरानी गर्ने गर्दछन्, ताकि अर्को क्षेत्रको चिम्पान्जी आएर कुनै गतितिधि नगरोस् । यदि अर्को क्षेत्रको चिम्पान्जी आफ्नो क्षेत्रमा प्रवेश गरेको छ भने दल–बलका साथ चिम्पान्जीको समूह गएर आक्रमण गर्दछ । यहाँसम्मकी दर्जनौंको संख्यामा चिम्पान्जी मिलेर अर्को क्षेत्रबाट आएको चिम्पान्जीको हत्यासमेत गर्दछन् । उनीहरु छापामार शैलीमा प्रस्तुत हुन्छन् ।
मानिसजस्तै चिम्पान्जी पनि स–सानो समूह बनाएर बस्छन् । उनीहरुको सामाजिक संरचना मानिससँग मिल्दोजुल्दो भए पनि आफ्नो क्षेत्रमा अर्को क्षेत्रको चिम्पान्जीलाई प्रवेश गर्न दिदैंनन् ।
आजभन्दा ६० लाख वर्ष पहिले चिम्पान्जी र मानिसको पुर्खा एकै भएको मानिन्छ । त्यसपछि भने मानिस र चिम्पान्जीको जिनमा भिन्नता आउँदै गयो र दुबै अलग–अलग प्रजातिमा बाँडिए । यही तथ्यलाई आधार मानेर वैज्ञानिकहरु भन्छन्, ‘मानिसले आजभन्दा ६० लाख वर्ष अघिदेखि नै आफ्नो प्रजातिको हत्या गर्दै आएको छ ।’
रेंघमका अनुसार मानिसले आफू जित्छु भन्ने विश्वास भएमा मात्र आफ्नो प्रजातिको अर्को पक्षसँग युद्ध गर्ने गरेको पाइन्छ । आफूभन्दा बलियो प्रतिद्वन्द्वी भएमा सम्भावित युद्धबाट मानिस पन्छिने वा भाग्ने गरेको उनको भनाई छ । तर चिम्पान्जीमा यस्तो देखिदैंन । चिम्पान्जीको स्वभाव नै झगडालु हुन्छ । उनीहरु जित वा हारको अन्दाज नगरी युद्ध गर्दछन् । यसो हुनुमा मानिसको चेतनाशक्ति पनि प्रमुख कारण रहेको रेंघमको भनाई छ । चिम्पान्जीमा चेतना शक्ति कम भएकै कारण उनीहरु जित वा हार तथा युद्धमा आफूले व्यहोर्नुपर्ने क्षति आँकलन नगरी लड्ने गरेको उनी बताउँछन् ।
मानिसको हिंस्रक व्यवहार पहिलेको तुलनामा अचेल निकै कम आएको उनको भनाई छ । हाल विश्वको विभिन्न भेगमा हिंसाको घटना बृद्धि भए पनि जनसंख्याको तुलनामा अहिले मानव सभ्यतामै सबैभन्दा कम हिंस्रक काल भएको उनको भनाई छ । मानव समाजमा मध्यस्थकर्ताको संख्या बढ्दो छ जो दुई झगडालुका बीचमा गएर झगडा छुट्याउने काम गर्दछन् । तर चिम्पान्जीमा यस्तो प्रबृत्ती हुँदैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्