
ताप्लेजुङ, जेठ ३ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रोपावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ ।
त्यहाँका प्रभावित स्थानीयबासीका लागि रु १५ करोड बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको हो ।
जिल्लाका साब्लाखु, सिनाम, थुम्देन, चाक्सिबोटे तथा पाँचथरका नागी, थर्पु, अमरपुर गाविसमा कम्तीमा पाँच वर्षदेखि बसोबास गर्दै आएकाहरुले सेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता रु १०० अंकित मूल्यको सेयरमा सोमबारदेखि जेठ १७ गतेसम्म आवेदन दिन सकिने जलविद्युत् आयोजनाका डिल्ली सुवेदीले जानकारी दिए ।
न्यूनतम रु पाँच हजारदेखि रु १० लाखसम्म सेयरका लागि आवेदन दिन पाइने छ ।
यसपछि पुनः कम्पनीले अन्य सर्वसाधारणका लागिसमेत २० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर आह्वान गर्ने सुवेदीको भनाइ छ ।
कम्पनीको कुल रु एक अर्ब ५० करोड अधिकृत पूँजी रहेको र सो पूँजीलाई रु १०० का दरले एक करोड ५० लाख सेयरमा विभाजन गरिएको छ ।
२५ मेगावाट क्षमताको काबेली ‘बी’ परियोजना ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ देखि निर्माणकाक्रममा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्