
राजु चौधरी (इमेज)
चितवन, जेठ ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मुग्लिङ–नारायणगढ सडकखन्डमा भएको सवारी जामका कारण सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको छ ।
प्रहरीले चितवनबाट आउने सवारी–साधनलाई मुग्लिङमा रोकेर सोमबार (आज)देखि चेकजाँचमा कडाइ गरेसँगै राजमार्गमा जाम बढेको हो ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउ आन्दोलनका कारण अन्य जिल्लाबाट चितवन हुँदै काठमाडौं भित्रनेहरु बढेसँगै प्रहरीले राजमार्गमा चेकजाँचमा कडाइ गरेको जनाएको छ ।
सोमबार अकस्मात् प्रहरीले चेकजाँच सुरु गरेसँगै नारायणगढ–मुग्लिङ सडकखन्डमा सयौं सवारी–साधन जाममा परेका छन् । पूर्वसूचना बिना नै यसरी चेकजाँच गर्दा समस्या भएको गुनासो यात्रुको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले ‘माथिको आदेश आएकाले मुग्लिङमा सवारी–साधनमा कडाइकासाथ चेकजाँच गरिएको’ जानकारी दिए ।
उनले गठबन्धको आन्दोलन काठमाडौंमा जारी रहेसम्म चेकजाँचलाई निरन्तरता दिइनेसमेत बताए ।
चितवनदेखि मुग्लिङसम्म आउन सामान्यरुपमा एक घन्टा लाग्नेमा सोमबार ६ घन्टासम्म लागेको यात्रुहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्