
काठमाडौं, जेठ ४ । ‘तालिमका बेला कमाण्डरले सभ्य भाषा प्रयोग गरेर बोलाए पो जनतामा पुग्दा सिपाहीले त्यही भाषा सिकेर जान्छ । कमाण्डरले सुरुदेखि तालिमको अन्तिमसम्म सभ्य भाषा सिकाउँदैन । जुनसूकै बखत गाली गरिरहन्छ । तर यतिबेला भने मुस्कानसहितको सेवा उपलब्ध गराउनुपर्ने अवस्था छ । सिपाही भएको १४ वर्षसम्म बढुवा हुँदैन । सरुवामा हुक्के, पाले, ढोकेको चलखेल हुन्छ । हेपिएको त्यही सिपाहीबाट शिष्ट कामको अपेक्षा गरिन्छ ।’
उल्लेखित विचार नेपाल प्रहरीमा कार्यरत हवल्दार र सिपाहीहरुको हो । प्रहरी प्रधान कार्यालयले एक महिनाअघिबाट सुरु गरेको गुनासो सुनुवाई कार्यक्रममा उपस्थित भएका हवल्दार र सिपाहीले सो बिचार प्रस्तुत गर्दै बढुवाको उचित व्यवस्थापन हुनुपर्ने, तालिमको समयमा सम्बोधनको भाषा अशिष्ट नहोस् र सिपाहीको भर्ना आह्वान गर्दा शैक्षिक योग्यतालाई ध्यान दिइयोस् भन्ने बिचार प्रकट गरेका थिए ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकसहित अन्य अधिकृतहरुलाई उपत्यकामा रहेका हवल्दार तथा सिपाहीहरुको सिधा गुनासो सुन्न खटाएको थियो । सोही अनुसार महाराजगञ्जस्थित एक युनिटमा भएको सो सुनुवाई कार्यक्रममा यस्ता बिचार प्रकट भएका थिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्