
काठमाडौं, जेठ ४ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ ।
यसअघि दुई दिनसम्म सिंहदरबार घेराउ गर्दै आएको गठबन्धनले आज भने बालुवाटार घेराउ गर्ने भएको हो । सोमबार साँझ बसेको गठबन्धनको बैठकले सिंहदरबार घेराउ सफल भएको भन्दै अब बालुवाटार केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको हो ।
गठबन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेलगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार नै साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र बढाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीशको सरकारी निवास वरपर निषेधित क्षेत्र बढाएको हो ।
गठबन्धनमा आबद्ध दलहरुले संविधानमा आफूहरुका माग नसमेटिएको भन्दै राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
सिंहदरबार घेराउका कारण सोमबार उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । ठाउँठाउँमा ट्राफिक जाम भएको थियो भने सवारी साधनलाई डाइभर्ट गरी भित्रिमार्गबाट सञ्चालन गरिएको थियो ।
उता नागढुंगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमाथि चेकजाँच कडा बनाइएको छ । नागढुंगामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आन्दोलनको बहानामा आपराधिक समूहले प्रवेश गर्ने अनुमान गरेर चेकजाँच कडा बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्