
तेहरान, जेठ ४ । ईरानको राजधानी तेहरानबाट ८ सेलिब्रेटीलाई गिरफ्तार गरिएको छ । दुई वर्ष लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
अन्य २१ जनाविरुद्ध आपराधिक मुद्दा दायर गरिएको छ । यी सबैमाथि इस्लामविरोधी संस्कृति फैलाएको आरोप लगाइएको छ ।
इन्स्टाग्राममा मोडलिङलाई प्रचार गर्ने उद्देश्यले तस्वीर राखेका १७० जनाको पहिचान गरी अनुसन्धान थालिएको थियो । अधिकारीहरुका अनुसार फोटोग्राफर, मेकअप आर्टिस्ट, मोडल, फेशन सैलुन मेनेजर र डिजाइनर कारवाहीको दायरामा तानिएका हुन् ।
फेसबुक, ट्वीटर र यु–ट्युबमाथि प्रतिबन्ध लगाइएको ईरानमा इन्स्टाग्राम निकै लोकप्रिय छ ।
तेहरान साइबर क्राइम अदालतका प्रमुख जावेद बाबेइका अनुसार उनीहरुले अनैतिक र इस्लाम विरोधी संस्कृति फैलाउँदै आएका थिए । तीमध्ये केहीलाई भ्रष्टाचार र बेश्याबृत्ती फैलाएको आरोप पनि लगाइएको छ ।
महिलाले सार्वजनिक स्थलमा बुर्का लगाउनुपर्ने प्रावधान लत्याएर उनीहरुले तस्वीर खिचेको आरोप मूख्यरुपमा लगाइएको छ ।
समाचार एजेन्सीहरुका अनुसार मोडलिङमा संलग्न मलिका जमानी, नीलोफर बेहबुदी, डोन्या मोगादम, डाना निक, शबनम मौलवी, एल्नाज गुलरुख र हामिल फदेईलाई गिरफ्तार गरिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्