३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


मेलम्चीमा छिट्टै सञ्चो नहुनेखालको रोग लागेको छ : दाहाल


0
Shares

काठमाडौं, वैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हिम्मतदार हात नचलाइकन मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं ल्याउन मुस्किल पर्नसक्ने बताएका छन् ।

उनले भने–‘मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रधानमन्त्रीले पनि तत्परता देखाउनुभएको छ । मन्त्री, सचिव पनि लाग्नुभएको छ । तर, आयोजनामा समस्या देखिएको छ । त्यसलाई समाधान गर्न सरकारले तत्काल कडा निर्णय गर्नु जरुरी देखिएको छ ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले एउटा प्रवृत्तिले मेलम्चीको पानी काठमाडौं ल्याउन अवरोध गरेको र त्यस्तो प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउन सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

नयाँ वैकल्पिक व्यवस्था गरेरै भएपनि आयोजनालाई छिटो सम्पन्न गराउन सरकारले छिट्टै निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास थियो ।

इटालीको ठेकेदार कम्पनी सीएमसीले आयोजना अलपत्र छाडेपछि हाल निर्माणकार्य अवरुद्ध छ ।

अध्यक्ष दाहालले भने–‘सुरुङ खन्ने काम सकिएको छ । काठमाडौं उपत्यकाभित्रको तयारी अन्तिम सम्पन्न हुने चरणमा पुगेको छ । सुन्दरीजलमा बनाउनुपर्ने पूर्वाधार अन्तिम चरणमा पुगेको छ । तर, आयोजना सम्पन्न हुने अझै केही समय लाग्ने देखिएको छ । किन यस्तो भइरहेको छ ?’

गत दसैं आसपास नै आयोजना सम्पन्न भइहाल्छ भन्ने अवस्थामा केही मान्छे मेलम्ची आउन नदिने खेलमा लागेको पाइएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने–‘केही हाम्रा मान्छे (नेपाली) नै आयोजना समयमा सम्पन्न हुन नदिने खेलमा लागे । यस्तो स्थिति आयोजनामा देखिएको छ ।’

आयोजनामा देखिएका चुनौतीलाई सम्पन्न गर्न राजनीतिक नेतृत्वले हस्तक्षेप नै गर्नुपर्ने उनको कथन थियो ।

उनले आयोजना सम्पन्न हुन नदिने र लामो समय लगाउने रोग लागेको भन्दै त्यसको निरुपणका लागि सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने–‘मेलम्चीमा छिट्टै सञ्चो नहुनेखालको रोग लागेको छ । उपचारचाहिँ छ । जरुरी पर्‍यो भने ‘अपरेसन’ गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।’

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । रासस