
काठमाडौं, जेठ ४ । अर्थमन्त्री विष्णु पौडेलले समृद्धिसहितको समाजवादउन्मुख बजेट ल्याउने बताएका छन् । उनले अनुत्तरदायी बजेट नल्याउने पनि दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार राजधानीमा गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले संविधान कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि औपचारिकरुपमा सुझाव आएको बताए ।
रोजगारी सिर्जना, आर्थिकबृद्धि, कृषि, उर्जा क्षेत्रमा बजेटकेन्द्रित गर्न सुझाव आएको भन्दै उनले उपयुक्त र मूल्यवान सुझावलाई समेट्ने आश्वासन दिए ।
व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समिति सभापति सांसद गगन थापाले समयमै बजेट आएपनि खर्च गर्न दिने समय धेरैपछिमात्रै हुने गरेको भन्दै आयोजना कार्यान्वयन गर्न ‘क्यालेन्डर’ बनाएर अगाडि बढ्न अर्थमन्त्रीलाई आग्रह गरे ।
उनले फागुन महिनामा ‘पोलिसी अडिट’ गर्नुपर्ने र फागनुपछि पनि कार्यान्वयनमा आउन नसकेका आयोजना खारेज हुने व्यवस्था गरिनुपर्ने बताए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उर्जाको अभावमा उद्योग सन्चालन हुन नसक्ने भन्दै उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए ।
उर्जाका लागि सरकारले भनेको समयसम्म कुर्न तयार रहेको तर भनिएको समयमा विद्युत् पाउनुपर्ने उनको भनाइ छ ।
उनले आगामी बजेटमा छुट र सुविधा नमागेको भन्दै गैरभन्सार अवरोध हटाउन आग्रह गरे ।
उनले उद्योगमा छिर्ने बाटो सहज भएपनि निस्कने बाटो गाह्रो भएको भन्दै खोलेको उद्योग बन्द गर्ने सहज बाटो बनाइनुपर्ने बताए ।
आर्थिक अपराध गर्ने उद्योगी–व्यवसायीलाई जेलमा राख्नुभन्दा आर्थिक जरिवाना गर्नेतर्फ ध्यान राज्यले दिनुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ अर्थविद् प्रा.डा. विश्वाम्भर प्याकुर्यालले कृषि क्षेत्रको विकास नभएसम्म अरु केहि हुनै नसक्ने बताए ।
उनले ६ प्रतिशतको आर्थिकबृद्धि हासिल गर्न कुल बजेटको १० प्रतिशत कृषि क्षेत्रका लागि विनियोजन गर्नुपर्न सुझाव दिए ।
हालको स्थितिमा आर्थिक संकटबाट मुक्त हुन नसक्ने भन्दै उनले बजेट कार्यान्वयनमा लागि संरचनात्मक परिमार्जन आवश्यक रहेको बताए ।
यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उत्पादन बृद्धिमा जोड दिँदै नेपालको कृषि क्षेत्रलाई भारतसँग प्रतिस्पर्धा गर्न सक्नेगरी बजेट ल्याउनुपर्ने बताए ।
उनले बजेट पारित गर्ने नाममा सांसदलाई खुसी पार्न सांसद बजेट बढाउने काम झुक्किएर पनि नगर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्