६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


निकुञ्जभित्र सशस्त्र प्रहरीको ‘धराप’


0
Shares

काठमाडौं, जेठ ५ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडी वन्यजन्तु शिकारका लागि ११ वटा धराप थापेको पाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा नागार्जुन दरबारमा खटिएको सशस्त्र प्रहरीको ब्यारेक अगाडी पाइएका ती धराप सेनाले फेला पारेर निकुञ्जको जिम्मा लगाएको छ ।

निकुञ्जका रेन्जर लब गुरागाईले सशस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको पुष्टि गरे । सूचना अधिकारीसमेत रहेका गुरागाईले भने, ‘सशस्त्र प्रहरीको भान्सा नजिक ती धराप पाइएको छ, त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

उक्त ब्यारेकको नेतृत्व सशस्त्र प्रहरीका डिएसपीले गरेका छन् । सेनाको पेट्रोलिङ टोलीले ती धराप फेला पारेको थियो ।

निकुञ्ज सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने त्यहीँभित्र रहेको पूर्वराजाको निवासको सुरक्षा सशस्त्र प्रहरी बलले गरेको छ । सर्वसाधारणलाई उक्त स्थानमा जान असम्भवप्रायः छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट