३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


उत्तर कोरियाली नेतासँग कुरा गर्छु : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, जेठ ५ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट दावेदार मानिएका डोनाल्ड ट्रम्पले उत्तर कारियाली नेतासँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् ।

कम्युनिष्ट सत्ता रहेको उत्तर कारियाली सरकार र नेतृत्वको गतिविधिविरुद्ध आफ्नो मुलुक र सरकार पूर्ण विरोधमा उत्रिरहेका बेला ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

प्रारम्भिक निर्वाचनको क्रममा एकपछि अर्को सनसनीपूर्ण वक्तव्यवाजी गर्दै आएका ट्रम्पले प्योङयाङको आणविक कार्यक्रमबारे उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटेरै छलफल गर्न मन लागेको बताए ।

‘म उनसँग कुरा गर्छु, मलाई कुरा गर्न कुनै समस्या छैन’, ट्रम्पले भनेका छन् । उनसँग आमनेसामने कुरा गरेर उत्तर कोरियाको एउटै मित्र मानिएको चीनमाथि दबाब सिर्जना गर्ने इच्छा आफ्नो रहेको उनले बताए ।

प्रस्तावित बैठक भएमा एकलकाँटे राजनीतिक वातावरणमा रहिरहेको उत्तरसँगको अमेरिकी नीतिमा आमूल परिवर्तन मानिने छ । ट्रम्पको यस भनाइलाई राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवार हिलारी क्लिन्टनले भने अर्थ र औचित्यहीनको संज्ञा दिएकी छिन् ।

अर्को प्रसंगमा अमेरिकी राष्ट्रपति निर्वाचन अगावै ट्रम्पले बेलायत भ्रमण गर्न सक्ने गरी घटनाक्रम विकास भएको बीबीसीले जनाएको छ ।

केही दिनअघि मात्र ट्रम्पले बेलायती प्रधानमन्त्रीप्रति निकै खरो आलोचना गरेको सन्दर्भमा फेरि उनको वेलायत भ्रमणको खबर आएको हो । (एजेन्सी)