२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


चौतारीको महाधिवेशनः श्रमजीवी पत्रकारको मुद्दाले स्थान पाउला ?


0
Shares

-प्रकाश सिलवाल

काठमाडौं, ५ जेठ ५ । प्रगतिशील पत्रकारको संस्था प्रेस चौतारी नेपाल यतिबेला सङ्घीय र समावेशी विधान तुर्जमा तथा नयाँ नेतृत्व चयनको कार्यसूचीसहित आठौं राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।

नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी, यसका सदस्य र पत्रकारिता क्षेत्रमा महाधिवेशन चासोको विषय बनेको छ ।

‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुने महाधिवेशन यही जेठ ६ देखि ८ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन, आवास तथा अन्य तयारी पूरा भएको छ । चुनावी प्रचारका लागि बागबजार र आसपास क्षेत्रमा पत्रकारको भिड लाग्न थालेको छ । भावी अध्यक्षमा पूर्व महासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने चर्चासँगै सहमतिको प्रयास पनि जारी देखिन्छ ।

चौतारीले चयन गरेका उम्मेदवार पछिल्ला कार्यकालमा नेपाल पत्रकार महासङ्घको नेतृत्व (शिव गाउँले र डा महेन्द्र विष्ट) मा पनि पुगेकाले यसप्रति थप आकर्षण बढेको छ ।

यो संस्था हाल मुलुकको ७५ वटै जिल्लामा शाखा विस्तार भएको पहिलो सञ्चार संस्था पनि बनेको छ । हालै मनाङ जिल्ला शाखा गठन भएपछि यसको सबै भूगोलका जिल्लामा शाखा विस्तार भएको हो भने त्यसका अतिरिक्त प्रतिष्ठानमा आठ शाखा छन् । नेपाली समाजलाई अघि बढाउन सचेतकको भूमिका निर्वाह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेसले महत्वपूर्ण भूमिकाका विषयमा महाधिवेशनमा बहस हुनेछ ।

बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यावसायिक एवम् अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापको सञ्चालन, पेसागत सीप र पत्रकारको वृत्ति विकासमा सहयोग पुर्‍याउने गरी तीन वर्षे कार्यकालका समीक्षा पनि महाधिवेशनमा हुनेछ । यही कार्यकाल समयमा प्रेसमैत्री संविधानका लागि पटकरपटक अभियान सञ्चालन भएका थिए ।

पत्रकारिता क्षेत्र स्वतन्त्र र व्यावसायिक सिद्धान्तमा रहनु पर्ने भए पनि यसमा वैचारिक वा दलगत आवद्धता नेपालजस्ता विकासोन्मुख तथा लोकतान्त्रिक मुलुकमा सामान्य अभ्यास बनेको छ । ठूला साना सबै दलआबद्ध पत्रकारका आफ्ना पेसागत संस्था क्रियाशील हुने क्रममा प्रेस चौतारी नेकपा (एमाले) निकट संस्था बनेको देखिन्छ ।

विसं.२०४८ मा नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन गठन भयो भने त्यसको आठ वर्षपछि चौतारी स्थापना भयो । पछि सशस्त्र युद्धकालमा नेकपा ९माओवादी० निकट क्रान्तिकारी पत्रकार सङ्घ बन्यो । माओवादी विभाजनसँगै क्रान्तिकारी पत्रकारमा पनि विभाजन देखियो । यता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसवादी दलसम्मका आफ्ना पत्रकारिताका मोर्चा गठन भएका छन् ।

विसं. २०५५ मङ्सिर २७ मा अनामनगरस्थित पत्रकार हेम पाठकको निवासमा अग्रज गोपाल थपलिया, डा कुन्दन अर्याल, अग्निशिखा, गोकुल बास्कोटालगायतको भेलामा प्रगतिशील पत्रकारबीच साँझा संस्थाको आवश्यकता महसुस गरी चौतारी गठन गर्ने निर्णय भएको थियो भने पत्रकार तथा साहित्यकार विजय चालिसेको अध्यक्षतामा यो २०५५ माघ २२ मा विभिवत दर्ता भएको थियो । त्यसपछि शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल अध्यक्ष भइसकेका छन् ।

यसैबीचमा सबैभन्दा बढी तीन कार्यकाल अध्यक्ष भएका पूर्व अध्यक्ष श्रेष्ठ एमालेको मोर्चा सङ्गठन भए पनि चौतारीलाई बेग्लै र बौद्धिक क्षेत्रसँग सम्बन्धित तथा प्रेस स्वतन्त्रतासँग गाँसिएको व्यावसायिक पत्रकारको साँझा संस्था बनाउन आवश्यक रहेको बताउछन् ।

श्रेष्ठले भने, “यसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन । वैचारिक सम्बन्ध होला तर पार्टी कार्यकर्ता यसको नेतृत्वमा आउनुर्छ भन्ने मान्यता होइन । पत्रकारले नेतृत्व गर्ने हो । पत्रकार गुटबन्दीमा लाग्नु हुँदैन ।”

पूर्व विष्ट श्रमजीवी पत्रकारको अगुवाई तथा कानुनी राज स्थापना, दण्डहिनताको अन्त्यका लागि पहल गर्ने र उनीहरुको पक्षमा बोल्ने एक आस्थावान सङ्गठन चौतारीले सुरुका वर्षका सबै वामपन्थी पत्रकारलाई समेट्न खोजेपनि पछि वामपार्टी विभिन्न ध्रुवमा विभाजित हुँदा यो एमाले निकट मात्र रहेको जनाए । उनले आम श्रमजीवी पत्रकारका मुद्दा कसरी उठाउने र कसरी कार्यान्वयन गर्ने मुख्य चुनौती भएकाले श्रमजीवी पत्रकारको हितमा उभिएर व्यावसायिक पत्रकारिताको यात्रामा यो अघि बढ्नुपर्ने प्रतिक्रिया दिए ।

चौतारीका महासचिव तथा भावी अध्यक्षका दाबेदार माधव नेपालका अनुसार हाल कुल आठ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि (पार्षद्) आउने छन् । उनले पत्रकारलाई सीप र दक्षताका लागि जोड दिन सरकारले गठन गर्ने राष्ट्रिय आमसञ्चार प्रतिष्ठानलाई अगाडि बढाउने र श्रमजीवी पत्रकारको हक हितका लागि थप सक्रिय हुनु आगामी कार्यभार रहेको बताए ।

यसअघि २०६९ फागुन २५–२९ मा विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा अर्यालको अध्यक्षतामा नेतृत्व निर्वाचित भएको थियो । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा र वीरेन्द्र साहका स्मृतिमा पुरस्का स्थापना गरेको छ भने क्रियाशील युवा पत्रकारिता पुरस्कार पनि वितरण गर्दै आएको छ भने जिल्लागत शाखाका पनि विविध गतिविधि सञ्चालन हुँदै आएका छन् । रासस