
काठमाडौं, जेठ ५ । पछिल्लो समय राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय संघीय गठबन्धनले राजधानीमा गर्ने थप १० दिनका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार राजधानीमा भएको गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए ।
संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् गठबन्धनले विरोधका कार्यक्रम बुधबारै दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गर्ने भएको छ ।
राजधानी केन्द्रित आन्दोलनअन्तर्गत् गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलंकीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते बसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ ।
त्यस्तै, गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान संघर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
राजधानीकेन्द्रित आन्दोलनकाक्रममा दिन सिंहदरबार र एकदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले बुधबार शान्तिबाटिका कोणसभाको आयोजना गर्दैछ ।
संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्तापक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन सुरु गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्