
काठमाडौं, वैशाख २७ । अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित मानिने ‘टाइम म्यागजिन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएको छ ।
पत्रिकाको नयाँ अंकमा ‘कभरस्टोरी’ गर्दै मोदीलाई भारतको विभाजनकर्ता भएको आरोप लगाइएको हो ।
‘इलुस्ट्रेड’ तस्वीरका साथ प्रस्तुत कभर पेजमा मोदीलाई ‘India’s Divider In Chief’ भनिएको हो ।
कभर पेज ट्वीट गर्दै टाइम म्यागजिनले ‘टाइम्सको नयाँ इन्टरनेशनल कभरः के दुनियाँको सबभन्दा ठूलो लोकतन्त्रले मोदी सरकारको आउने पाँच वर्ष सहन गर्न सक्ला ?’ भन्ने प्रश्न गरेको छ ।
TIME’s new international cover: Can the world’s largest democracy endure another five years of a Modi government? https://t.co/fTBGDwq06E pic.twitter.com/1Oxu3EEnNb
— TIME (@TIME) May 10, 2019
यद्यपि, यो पत्रिका बजारमा भने आइसकेको छैन । पत्रिका मे २० मा बजारमा आउँदैछ ।
भारतमा जारी लोकसभा निर्वाचन १९ मे मा सकिँदैछ । मतदान परिणाम भने २३ मेमा आउनेछ ।
पत्रिकामा नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्री बन्नेसम्मको घटनाहरु उल्लेख गरिएको जनाइएको छ । प्रधानमन्त्री बनेपछिको पाँचवर्षे कार्यकालको पनि समीक्षा गरिएको बताइएको छ ।
तर, पत्रिकाको कभर पेजका सम्बन्धमा भने भारतमा ठूलो विवाद र टिप्पणी शुरु भएको छ । पक्ष–विपक्षमा जनमतहरु बन्दै गएको देखिँदैछ ।
यही पत्रिकाले सन् २०१६ मा मोदीलाई नै पाठक मतका आधारमा ‘पर्सन अफ दी इयर’ अर्थात् वर्ष व्यक्ति घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्