१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


मौसम बिग्रिएपछि सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही दुई दिनदेखि रोकिए


0
Shares

काठमाडौं, जेठ ५ । प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् ।

मौसममा उतार–चढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको चुचुरोनजिक हावा चलेका कारण मंगलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार धेरै आरोही क्याम्प दुई, तीन र चारमा छन् । उनीहरु बिहीबार, शुक्रबार र शनिबार चुचुरोमा पुग्नेछन् ।

केही आरोही भने अहिले आधार शिविरमै रहेका छन् । उनीहरु पनि उँभोतिर लाग्ने तयारीमा रहेको श्रेष्ठले बताए ।

वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको सगरमाथा आरोहण निरन्तर ६ दिनसम्म अर्थात् जेठ ३ गतेसम्म चलेको थियो ।

सगरमाथा आरोहणको ६ दिनको अवधिमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

विभागको अनुमानअनुसार बुधबार ५८ नेपाली र ४१ विदेशी गरी ९९ आरोही चुचुरोमा पुग्ने योजनामा थिए । तर, बुधबार कुनै आरोहण भएन ।

त्यसैगरी, बिहीबार ११० नेपाली ८७ विदेशी, शुक्रबार ७० नेपाली र ५६ विदेशी तथा शनिबार २१ नेपाली र २१ विदेशी गरी जम्मा ४६४ आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको थियो ।

प्राकृतिक विपत्तिका कारण सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहणले विश्वको ध्यानकेन्द्रित गरिरहेको छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्यांकअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।

तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस