२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


राष्ट्रियता बलियो बनाउन आन्दोलन : यादव


0
Shares

काठमाडौं, जेठ ५ । संघीय गठबन्धनले बिहीबारदेखि काठमाडौंकेन्द्रित थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

गठबन्धनले बुधबार रत्नपार्कमा आयोजना गरेको सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

बिहीबार (भोलि) मंगलबजार, ७ गते नयाँबानेश्वर, ८ गते स्वयम्भू, ९ गते चाबहिल, १० गते कीर्तिपुर, ११ गते भक्तपुर, १२ गते बालाजु, १३ गते कलंकीचोक, १४ गते मध्यपुरथिमीमा विरोधसभा गर्ने गठबन्धनका संयोजक उपेन्द्र यादवले घोषणा गरे ।

काठमाडौंकेन्द्रित आन्दोलनको समर्थनमा १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि विरोधसभा गरिने भएको छ ।

आन्दोलन घोषणा गर्दै संयोजक यादवले ३६ पटक सरकारसँग वार्ता गर्दा पनि समस्याको समाधान नभएपछि राष्ट्रियता बलियो बनाउन आन्दोलन गर्न बाध्य हुनुपरेको बताए ।

‘जनताको अधिकार प्राप्तिका लागि गरिएको शान्तिपूर्ण अहिंसात्मक आन्दोलनलाई सेना, प्रहरी र कानुन कसैले पनि रोक्न सक्दैन, पृथ्वीनारायण शाहले भूगोल एवं प्रशासनिकरुपमा एकीकरण गरेको नेपाललाई भावनात्मकरुपमा एकीकृत बनाउन यो आन्दोलन सुरु गरेका हौं’–उनले भने ।

संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले संघीय सहअस्तित्वलेमात्र मुलुकको रक्षा गर्नसक्ने बताए ।

‘नेपालबाहिर नेपालको अस्तित्व संकटमा परेकाले नेपालीको पहिचान कायम गर्न आन्दोलन गरेका हौं’–उनले भने ।

सभामा गठबन्धनका नेता लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव, अनिल झा, डा. आभाष लाभ, डा. ओम गुरुङ, मनरत्न शाक्य, पर्शुराम तामाङलगायतका वक्ताले पहिचानसहितको १० प्रदेश निर्माण गर्ने गरी संविधानको पुनर्लेखन गर्न माग गरेका थिए ।