
काठमाडौं, वैशाख २७ । अर्थमन्त्री डा. युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षकारुपमा आगामी वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा कर प्रस्तावबाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्दै उनले आगामी वर्षको बजेटमा अधुरा आयोजना पूरा गर्न प्राथमिकता दिइने बताए ।
विकास पूर्वाधारलाई केन्द्रमा राखी बजेट
अर्थमन्त्री खतिवडाले रेलमार्ग, जलमार्गलाई, सडकमार्गलगायतका विकास पूर्वाधारलाई केन्द्रमा राखी बजेट विनियोजन गरिने स्पस्ट पारे ।
विकास निमार्णका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएपनि निर्यात क्षेत्रसमेत सुधारोन्मुख रहेको उनको दाबी छ ।
गत वर्ष ६.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ७ प्रतिशत कायम हुने भन्दै उनले आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने आधारशीला तयार भएको जिकिर गरे ।
बजेट वाम गठबन्धनले बनाएको घोषणापत्रका आधारमा
उनले आगामी वर्षको बजेट वाम गठबन्धनले बनाएको घोषणापत्रका आधारमा निर्माण गर्ने जानकारीसमेत दिए ।
विकासका लागि अनुकूल वातावरणसमेत बन्दै गएको भन्दै अर्थमन्त्री खतिवडाले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरी बजेट विनियोजन गरिने बताए ।
विद्युत् उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी बजेट छुट्याउने उनले उल्लेख गरे ।
युवालक्षित कार्यक्रमलाई प्राथमिकता
‘समृद्ध नेपाल, सुखी नेपाली’को आधारशीला निर्माण भएको भन्दै उनले आगामी वर्ष सामाजिक न्यायसहितको विकासको अधार वर्षकारुपमा रहनेगरी बजेट विनियोजन गरिने बताए ।
अर्थमन्त्री खतिवडाले आगामी वर्ष उच्च आर्थिक वृद्धि हुनेगरी बजेट ल्याउने, क्षमताअनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि स्पस्ट पारे ।
आगामी वर्षलाई युवा परिचालनको वर्षकारुपमा लिइने भन्दै उनले सोहीअनुसार युवालक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने उल्लेख गरे ।
चालू आर्थिक वर्षमा मूल्यवृद्धि नियन्त्रणमा रहेको र आगामी वर्ष पनि मूल्यवृद्धिलाई नियन्त्रणमा राखिने अर्थमन्त्री खतिवाडाको भनाइ छ ।
दुई वर्षभित्र साक्षर नेपाल बनाउने, सुरक्षित बस्ती विकास तथा आवास निर्माण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नेगरी बजेट विनियोजन गरिने उनले बताए ।
प्रि–बजेटमाथिको छलफल आगामी आइतबार र सोमबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्