
काठमाडौं, जेठ ६ । पञ्जावलाई हराउँदै बैंग्लोर इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति बैंग्लोरको चिनास्वामी रंगशालामा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किङ्स इलेभेन पञ्जावलाई डकवर्थ लुईस नियमका आधारमा ८२ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले १५ ओभरमा घटाइएको खेलमा ३ विकेट गुमाएर २ सय ११ रन बनायो । बैंग्लोरका विराट कोहलीले १ सय १३ रन जोड्दा क्रिशः गेलले ७३ रनको योगदान दिए ।
जवाफमा २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले १४ ओभरमा ९ विकेट गुमाएर १ सय २० रन जोड्दा वर्षाले खेल रोकियो ।
यसपछि डकवर्थ लुस नियमको आधारमा खेलको परिणाम निकालिंदा बैंग्लोर ८२ रनले विजयी भएको हो । जितसँगै बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अन्तिम खेलमा दिल्लीलाई पराजित गरेमा बैंग्लोर प्ले अफ्का लागि छनौट हुनेछ । उक्त खेलमा बैंग्लोर पराजित भएको खण्डमा भने प्ले अफ्मा पुग्न अन्य खेलहरुको परिणाम पनि आफू अनुकुल आउनुपर्ने हुन्छ । आइपिएल क्रिकेटमा आज राति गुजरात लायन्स र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्