२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित, सजगता अपनाउन सुझाव


0
Shares

बाँके, वैशाख २७ । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ ।

‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ ।

मौसम विज्ञान विभागको नेपालगन्ज शाखा कार्यालयकाअनुसार यहाँको अधिकतम् तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।

गर्मीयाम सुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो ।

उक्त कार्यालयकाअनुसार नेपालगन्जको अधिकतम् तापक्रम ३७ देखि ४३ डिग्री सेल्सियस आसपास रहेको छ ।

यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।

आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिइन् ।

‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनले भनिन् ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्यपदार्थको बिक्री बढेको छ ।

तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।

तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ ।

कामदारको दैनिक जीवन कस्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ ।

सजगता अपनाउन सुझाव

तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् ।

वैशाख महिनाभर नेपालगन्जलगायत पश्चिम तराईमा पानी परेको छैन । गर्मीका कारण घाउ–खटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवारोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।

यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ ।

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् ।

गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्यपदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्न सक्छ ।

अत्यधिक गर्मीमा वायुमन्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानी कम हुन्छ ।

पानी कम भएपछि अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारीरिक समस्या देखापर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीले सुझाव दिए ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनैपरेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटक–पटक पानी पिउनुपर्ने, खानामा शाकाहारी खानेकुरा, झोलपदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नसालुपदार्थ सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए । रासस