
-यादब आचार्य, ईमेज
बर्दिया, जेठ ६ । थारु समुदायले सञ्चालनमा ल्याएको बर्दियाको सूर्यपटुवास्थित डल्ला होमस्टे नेपालकै पहिलो नम्बरमा पर्न सफल भएको छ । बेलायती राजकुमार ह्यारी नेपाल भ्रमणका क्रममा डल्ला होमस्टेमा पनि पुगेपछि यहाँको पर्यटक आगमनमा बृद्धि भएको छ ।
बर्दियाको सूर्यपटुवा गाउँ विकास समिति स्थित डल्ला गाउँमा थारु समुदायले संचालन गरेको होमस्टे अहिले उत्कृष्ट मात्र होइन नेपालकै एक नम्वर होमस्टेमा पर्न सफल भएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले डल्ला होमस्टेलाई यो बर्षको नेपालकै एक नम्वर होमस्टेमा राखेको हो । सुरुवाती समयमा ११ घरबाट सुरु भएको होमस्टे अहिले २२ घरमा रहेको छ ।
२२ वटा घरमा दुई दुई कोेठा गरी ४४ वटा कोठा अझै थपिने क्रममा छन् । डल्ला गाउँमा १ सय २० घरपरिवार रहेका छन् ।
खेतीपातीमा निपूर्ण यि समुदायहरुले सामुदायिक वन संरक्षण गरे सँगै बन्यजन्तु बृद्धि हुन थालेपछि गाउँमा पर्यटकहरु भित्रिन थालेका हुन् ।
होमस्टे बाटै अहिले यहांका थारु समुदायले मनग्य आम्दानी गरिरहेको जैविक मार्ग होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरी बताउँछन् ।
२०७२ सालमा गएको विनासकारी भूकम्प, तराई आन्दोलन र नाकावन्दीबाट निरास भएका डल्ला गाउँका थारु समुदाय वेलायती राजकुमार ह्यारीको आगमन पछि भने कायापलट भएको बताउंछन् ।
ह्यारीको आगमनसंगै यस होमस्टेमा भित्रने पर्यटकमा निक्कै बृद्धि भएको छ । बार्षिक स्वदेशी तथा विदेशी गरी ११ हजार पर्यटक भित्रिएको डल्ला होमस्टेमा चार महिना यता ५ हजार भन्दा वढी पर्यटकहरुले अवलोकन भ्रमण गरिसकेका छन् ।
यहां प्याकेजमा आवास, खाना तथा खाजाको ६ सय ५० रुपैयां मात्र रहेको छ । होमस्टेको सस्तो मुल्यका कारण पनि पर्यटक आउने संख्यामा बृद्धि भएको होमस्टे संचालकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्