२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


दुई वर्षभित्र नेपाल आफैंले पेट्रोलियम पदार्थ उत्पादन गर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।

प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाअधिवेशनको विहीबार राजधानीमा उद्घाटन गर्दै उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेलखानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।

उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी रु १० अर्ब आय हुने फलामखानीसमेत फेलापारिसकेको जानकारी दिए ।

मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले बुद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मकरुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे ।

यस्तै, उनले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण पनि गरे ।

महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ । रासस

फाइल फोटो