६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


रातो मच्छिन्द्रनाथको भोटोजात्रा यस वर्ष दुई महिना ढिला


0
Shares

काठमाडौं, जेठ ६ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटोजात्रा यस वर्ष शुक्र अस्तका कारण दुई महिना ढिला हुने भएको छ ।

गत वैशाख १९ गते बिहान ७ः३१ बजे पूर्वबाट अस्त भएको शुक्र आगामी असार २४ गते बेलुकी ७ः२० बजे पश्चिमबाट उदय हुने नेपाल पञ्चांग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए ।

‘गुरु र शुक्र अस्त भएका बेला रातो मच्छिन्द्रनाथको भोटो देखाउन नमिल्ने भएकाले यस वर्ष ढिला हुन्छ, असार २४ गते शुक्र उदय भएपछि पनि तीन दिनसम्म बाल अवस्थामा साइत ननिकालिने भएकाले असार २७ गतेपछिमात्र भोटो देखाउने जात्राको साइत जुराइन्छ’–उनले भने ।

वि.सं ५४६ देखि सुरु भएको यो जात्राको साइत हेर्न विगत ८०० वर्षअघिदेखि पाटनका ज्योतिषी जोशी परिवारलाई जिम्मा दिइएको थियो ।

चारजनाको समूहलाई साइत हेर्ने जिम्मा दिइएकामा दुई परिवारका सदस्यले ज्योतिषशास्त्रको अध्ययन र अभ्यास गर्न छोडेपछि दुई सदस्यमा सीमित भएको साइत हेर्न खटिएका कीर्तिकिरण जोशीले जानकारी दिए ।

‘अहिले म र पूर्णमंगल जोशीमात्र साइत हेर्न सक्रिय छौं’–उनले भने ।

बुधबार ललितपुरको थटीटोलमा रथयात्रा पुर्‍याइ नरिवल जात्रा गरियो । यहाँबाट जावलाखेल यात्रा लैजान साइत हेर्नुपर्ने परम्परा छ ।

थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्नुपरेको उनले बताए । यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याइन्छ । ६ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।

यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने नियम छ ।

यस वर्ष वैशाख २५ गते रथारोहण र २८ गते रथयात्रा सुरु गरिएको हो । रथारोहण र रथयात्रा नियमित प्रक्रिया भएकाले शुक्र अस्तमा पनि गर्न मिल्ने ज्योतिषी समूहले बताएका छन् । रासस

फाइल फोटो