
अपडेटः
काठमाडौं, जेठ ६ । फ्रान्सको प्यारिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एअरबस ए३२० विमान भूमध्य सागरमा दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीय रातको समयअनुसार ग्रीकको हवाई क्षेत्रबाट राडारसँग विमानको सम्पर्क टुटेको थियो ।
‘एमएस८०४’ कलसाइन भएको विमानमा तीनजना बालबालिकासहित ५६ यात्रु, सातजना चालकदलका सदस्य र तीनजना सुरक्षाकर्मी रहेको बताइएको छ । विमानमा धेरैजसो इजिप्ट र फ्रान्सका नागरिक रहेका छन् ।
आतंकवादीको संलग्नता ?
फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले इजिप्ट एअर दुर्घटनामा परेको भन्दै दुर्घटनामा आतंकवादीको संलग्नता पनि हुनसक्ने बताएका छन् ।
इजिप्टको रक्षा मन्त्रालयले विमान भूमध्य सागरमा खस्नुअघि दुईपटक फनफनी घुमेको र त्यसपछि राडारसँग सम्पर्क टुटेको उल्लेख गरेको छ ।
इजिप्टको हवाई क्षेत्रको १० माइलभित्र प्रवेश गरेपछि राडरसँग विमानको सम्पर्क टुटेको हो । विमान कम्पनीले १३ वर्ष पुरानो एअरबस हराएको पुष्टि गरेको छ ।
ग्रीक र इजिप्सियन सैन्यबलले ग्रीक टापु कार्पातोसमाको दक्षिणी समुद्रमा बृहद् खोजी गरिरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्