
काठमाडौं, जेठ ६ । शान्तिप्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुबीच विहीबार एकता भएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्यबाट फुटेको रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मात्रिका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दबाट फुटेको नेकपा माओवादीको एक समूहबीच विहीबार एकता घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् ।
पार्टी एकता घोषणासभामा बोल्दै दाहालले सहिद तथा बेपत्ता परिवार, घाइते र अपांगहरुको आग्रहबमोजिम पार्टी एकताको थालनी गरेको बताए ।
नयाँ पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुनेछ । विहीबार ५ सय ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ भने एक सय सदस्य पछि एकता प्रक्रियामा आउनेहरुका लागि छुट्याइएको बताइएको छ ।
केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने पार्टी एकता संयोजन समितिको तयारी छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्