६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


कर्णालीमा खाद्यान्न संकट, नेताहरु ब्रम्हलुटमा


0
Shares

काठमाडौं, जेठ ७ । अभावग्रस्त कर्णालीमा सरकारले ठूलो मात्रामा खाद्यान्न पठाउने तयारी गरिरहँदा त्यहाँका विभिन्न पार्टीका नेताले सहमतिमार्फत ढुवानी भाडा तीनगुणा बढाउन दबाब दिएपछि आपूर्ति अनिश्चित बनेको छ ।

कर्णाली अञ्चलका हुम्ला, मुगु, डोल्पा, कालीकोट र सेती अञ्चलको बाजुरा जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी अकालबाट आमजनतालाई बचाउन सरकारले थप ३४ हजार क्विन्टल चामल पठाउने निर्णय गरेको हो ।

तर वर्षा लागिसकेको भन्दै स्थानीय ठेकेदारसँगको मिलेमतोमा दलका जिल्ला नेताहरुले सहमतिमार्फत ढुवानी खर्च थप्न सरकारलाई जिल्ला खाद्य व्यवस्था समितिमार्फत पत्र पठाएपछि अन्यौल बढेको छ ।

आपूर्ति मन्त्रालयका अनुसार हाल प्रतिक्विन्टल २ हजार ९ सय ७५ रुपैयाँमा हुम्लाको श्रीनगरका लागि खाद्यान्न ढुवानी गर्दै आएकामा नेताहरुले बढाएर ६ हजार ९ सय ७५ रुपैयाँ पुर्‍याउन माग गरेका छन् । सरकारले नियमित रुपले खाद्य संस्थानमार्फत पठाउने चामलभन्दा धेरै चामल पठाउने भएपछि दलका नेताले ठेकेदारमार्फत कमाउन यस्तो निर्णयसहितको पत्र पठाएका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट