
विराज रोस्यारा
कैलाली, वैशाख २७ । कैलालीको अत्तरियादेखि धनगढीसम्मको ६ लेनको सडकको निर्माण कार्य सुस्त हुँदा स्थानीय र यात्रु आजित बनेका छन् । उसै त सवारी हुइँकिइरहने सडक, त्यसमाथि हावाहुरीको मौसमका कारण बुङ्बुङ्ती धुलो उडेर यात्रु र वरपरका स्थानीय हैरान बनेका हुन् ।
हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने सडकमा हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती भएको छ । मोहना पुलदेखि अत्तरियासम्मको कच्ची १४ किलोमिटरको दुरी पार गर्न एकघन्टासम्म लाग्ने गरेको छ । कच्ची सडक भएकाले अर्कोतिर धुलो उडेर छेउछाउका घर र पसलहरुमा धुलो पस्दा स्थानीयहरु वाक्क बनेका छन् ।
सडक वरपरका घर पसलमा दिनमा ८÷१० पटकसम्म धुलो सफा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बाबुराजा श्रेष्ठको गुनासो छ ।
अहिले सडक निर्माण चलिरहेका कारण पनि सडक बढी धुलाम्ये भएको हो तर निर्माणको गति निकै सुस्त भएकाले लामो समयसम्म जनताले धुलोको सास्ती खेप्नुपरेको छ । सडकबाट हिड्ने र सडक नजिक ब्यापार गर्ने तथा घर भएका मान्छेलाई विभिन्न खाले संक्रमण देखिन थालेको स्थानीय दामोदर सापकोटा बताउँछन् ।
यता, आयोजनाका ईन्जिनियर खगेन्द्रबहादुर शाही धुलाम्य सडकमा दिनमा तीन पटकसम्म पानी छर्किने गरिएको भए पनि चर्को गर्मीले गर्दा धुलो उड्ने समस्या नरोकिएको बताउँछन् ।
निर्माण सम्झौता सकिनै लागेको भए पनि सडकको भौतिक प्रगति भने ३५ देखि ४० प्रतिशतमात्रै सकिएको ईन्जिनियर शाहीको भनाइ छ ।
निर्माणका क्रममा जथाभावीरूपमा सडकमा खाल्डो खन्दा ठाउँठाउँमा सडक साँघुरिन गई दुर्घटनाको जोखिम पनि बढाएको छ । गर्मीयाममा धुलोको सामना गरिरहेका सर्वसाधारणले आउने वर्षायाममा सडक हिलाम्मे र डुबान हुने चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्