२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


भ्रष्टाचारमा दोषी ठहर भएलगत्तै ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण


0
Shares

ब्राजिल, वैशाख २७ । भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

ब्राजिलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेलगत्तै टेमेअरले आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर आरोप लागेको थियो ।

यही अभियोगका कारण उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासतमुक्त भएका थिए । अदालतले उनीमाथि लागेको अभियोगको फैसला गर्दै जेल चलान गर्ने आदेश दिएको छ ।

अदालतको आदेशको सम्मान गर्दै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

यद्यपि, पूर्वराष्ट्रपति टेमेअरले आफूमाथि लागेका अभियोग अस्वीकार गरेका छन् । उनले अदालतको आदेश खेदजनक भएको प्रतिक्रिया दिए ।

उनले आफूमाथि अन्याय भएकाले न्यायका लागि माथिल्लो अदालत जाने बताएका छन् । ब्राजिलको राष्ट्रपतिका रुपमा उनको कार्यकाल गतवर्ष मात्रै सकिएको थियो । आत्मसमर्पणपछि उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । (एजेन्सी)