२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अमेरिका–चीन व्यापार युद्ध तत्काल समाधान नहुने संकेत


0
Shares

वासिंटन, वैशाख २७ । अमेरिका र चीनबीच देखिएको व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको छ ।

व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीच छलफल भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने फैसला गरेपछि तत्काल समस्या समाधान नहुने संकेत देखिएको हो ।

अमेरिकाले बढाएको कर आजैदेखि लागू हुँदै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाउँदै कर वृद्धिको निर्णय गरेका हुन् । सम्झौता तोडेको जवाफमा चिनियाँ सामानमाथि करवृद्धि गरेको उनले स्पष्ट पारेका छन् ।

चीनले आफ्नो देशका सामान अमेरिकाले करवृद्धि गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले वार्ताको सम्झौता तोडेको आरोप लगाएका हुन् । फ्लोरिडामा भएको एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चिनियाँहरुले सर्त तोडेपछि आफूले कर वृद्धिको घोषणा गरेको र अहिले चीन सम्झौता गर्न खोजिरहेको बताए । त्यसैका लागि चिनियाँ उपप्रधानमन्त्री लियू हि अहिले अमेरिकामा आएको उनको भनाइ थियो ।

राष्ट्रपति ट्रम्पले अब चीनले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।

यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । तर गत आइतबार राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् २ सय अर्ब डलर बराबरको चिनियाँ सामानको कर दोब्बर पार्ने घोषणा गरेका थिए ।

अमेरिका र चीनबीच गतवर्षको जुलाइदेखि व्यापारयुद्ध सुरु भएको हो । यसकै कारण विश्वभर आर्थिक मन्दीको प्रभाव देखिएको छ । दुई देशबीचको युद्धले सेयरबजारसमेत प्रभावित भएको छ । (एजेन्सी)