
काठमाडौं, जेठ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित गन्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित ६ जना सन्चालकलाई झूठा विवरण दिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ ।
अख्तियारले अर्यालका अतिरिक्त एमबीबीएस पढाउन सिट निर्धारण गर्दा गलत प्रतिवेदन दिएको भन्दै निरीक्षणमा खटिएका प्राध्यापक डा. गणेशकुमार राईलगायत ६ जनाविरुद्ध पनि मुद्दा लगाएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ अनुसार तीनदेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्मको जरिवाना माग गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
निरीक्षण टोलीका राई र प्रा.डा नरमाया थापालाई भने सार्वजनिक पदमा रहेको भन्दै दफा २४ बमोजिम थप सजाय माग गरिएको छ । यो प्रावधानअनुसार तीन वर्षसम्मको सजाय थप हुनेछ ।
एमबीबीएस सिट निर्धारणका लागि निरीक्षण गरी प्रतिवेदन दिँदा बदनियत्पूर्वक भएगरेका कुरा लुकाइ–छिपाइ हुँदै नभएका गलत विवरण देखाएको भन्दै निरीक्षण टोलीका सदस्यहरुलाई भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।
निरीक्षण टोलीका प्रा.डा राई, थापासहित उपप्रध्यापक डा. प्रदिप ज्ञवाली, राजीव अधिकारी र निरीक्षण टोलीका सदस्य डा. प्रणीतकुमार पोखरेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्यस्तै, गन्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत सन्चालक रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज अर्याल, हुमनाथ कोइराला र निशान राजभण्डारीविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुले, एमबीबीएसका लागि १५० सिट पाउन, विश्वविद्यालयबाट पद स्वीकृत नभएका विषयमा फ्याकल्टीहरुको विवरण दिएको, अरु भौतिक पूर्वाधारलगायतका झूठा विवरण दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्