
काठमाडौं, जेठ ८ । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव आज विशेष कार्यक्रमका साथ मनाइदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीमा गरिने कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि सहभागि हुने छन् ।
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा भाग लिन विभिन्न देशका प्रतिनिधिसमेत बुद्ध जन्मस्थल लुम्बिनी पुगिसकेका छन् । कार्यक्रमका लागि लुम्बिनी क्षेत्रलाई सजाएर झकिझकाउ बनाइएको छ भने सुरक्षा प्रबन्ध पनि उच्च पारिएको छ ।
नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि उनी भगवान् बुद्धका रुपमा विश्व प्रसिद्ध भए ।
३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलो पटक पाँच जना शिष्यलाई प्रवचन दिएको मानिन्छ । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले दिएको पहिलो प्रवचनमा, संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने उल्लेख थियो ।
यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एशियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ ।
यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुबै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।
प्रतिक्रिया दिनुहोस्