
लुम्बिनी, जेठ ८ । २५ सय ६०औं बुद्धजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा गरिएको विशेष समारोहमा २८ देशका ३ सय ५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बी सहभागी छन् ।
राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरिन् ।
त्यसअवसरमा बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्धवचन पाठ गरेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले भगवान् गौतमबुद्धको शान्ति र अहिंसाको दर्शन एवं आदर्शले विश्व समुदायलाई उत्प्रेरणा दिएको बताइन् ।
उनले लुम्बिनीको विकासका लागि गुरुयोजनाअनुसारको काम पूरा गरी नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिइन् ।
समारोहमा प्रधानमन्त्री तथा बुद्धजयन्ती समारोहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले गौतमबुद्धको शान्ति र अहिंसाको सन्देशसहित लुम्बिनीलाई मानवजातिकै तीर्थस्थलकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले बुद्ध दर्शनको विस्तार र लुम्बिनीको विकासमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्