१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


लोमाङथाङ हुँदै कोरलानाकासम्मको पर्यटन प्रवद्र्धनमा जुटे व्यवसायी


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ ८ । हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको प्रवद्र्धनमा स्थानीय पर्यटन व्यवसायी जुट्ने भएका छन् । माथिल्लो क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने पहलमा व्यवसायी लागेका हुन् ।

पोखरा पर्यटन परिषद (पीटीसी)को आयोजनामा पर्यटन व्यवसायीसहितको टोलीले आइतबारदेखि लोमाङथाङ हुँदै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको कोरलानाकासम्मको प्रवद्र्धन गर्न थालेको पीटीसीका अध्यक्ष सोमबहादुर थापाले बताए ।

‘हिमाली क्षेत्रको प्रवद्र्धनमा यो कार्यक्रमले सघाउनेछ’–उनले भने–‘त्यस क्षेत्रमा पर्यटक भित्र्याउन पनि यो अभियानले थप बल पुर्‍याउनेछ ।’

उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनि विभिन्न देशका पर्यटक त्यहाँ पुग्ने गदर्छन् ।

उपल्लो मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा पर्छ ।

अर्धनिषेधित क्षेत्र (सेमी रेस्ट्रिक्टेट एरिया)मा पर्ने यस भेगमा सन् १९९२ देखिमात्र विदेशी पर्यटक प्रवेशका लागि खुल्ला गरिएको थियो ।

यो अभियानले आगामी दिनमा त्यस क्षेत्रमा थप पर्यटक पठाउन सघाउने उनले बताए ।

प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले सघाउँदैछ । टिममा पोखराका पर्यटन व्यवसायीसहित उद्यमी सहभागी छन् ।

पाँच दिनसम्म चल्ने भ्रमणलाई व्यवसायीले ‘मिसन कोरला–२०१६’ नाम दिएका छन् ।

हिमाली क्षेत्रको स्थलगत् अवलोकन, पर्यटन सम्बद्धपक्षबीच अन्तरक्रिया गर्दै जलवायु परिवर्तनले उक्त क्षेत्रमा पारेको असरबारे पनि जानकारी लिइने अध्यक्ष थापाले बताए ।

पोखरासहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवं परिषदका उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

पोखरा आउने पर्यटकहरु यहाँबाट उच्च हिमाली शृंखलाको अवलोकन गर्ने उद्देश्यकासाथ ऐतिहासिकस्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उनको भनाइ छ ।

नेपाल र तिब्बत जोड्ने कोरलानाकालाई व्यवसायिक प्रयोजनमा ल्याउनेसमेत सरकारी तयारी छ । त्यसका लागि अध्ययनसमेत भइरहेको छ ।

सरकारले २०७३ साललाई ‘घुमफिर वर्ष’कारुपमासमेत प्रवद्र्धन गरेको छ । अहिलेको अभियानले घुमफिर वर्षको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटकलाइ उक्त क्षेत्रमा पठाउन पनि सघाउने उनले बताए ।