
काठमाडौं, जेठ ८ । शेयर बजार परिसूचक नेप्सेले १५ सयको नयाँ उचाई कायम गर्दैछ । यो साता नेप्से दोहोरो अंकले बढेर १५ सय पुग्नै लागेको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २२ अंकले बढेर अन्तिम दिन १४ सय ९९ बिन्दूमा पुग्यो ।
यो साता अन्य र उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।
बीमा समूह सबैभन्दा १ सय ५४ अंकले बढ्यो । यस्तै, वाणिज्य बैंक २६ र विकास बैंक समूह पनि २४ अंकले बढे । व्यापार समूह भने स्थिर रह्यो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीहरुको चार अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरका ६९ लाख ६१ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ४९ कम्पनीहरुको पाँच अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरका ८४ लाख १४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम भने गत साताकोभन्दा करिब १९ प्रतिशतले कम हो ।
यो साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड १ र कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बंगालादेश बैंक, प्रभु इन्स्योरेन्स, सानिमा बैंक र नेपाल बैंकले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्