
काठमाडौं, जेठ ८ । इजिप्टको सेनाले गत विहीबारबाट हराइरहेको इजिप्ट एअर विमानको खोजीकाक्रममा भूमध्यसागरमा भेटिएका वस्तुहरुको तस्वीर शनिबार सार्वजनिक गरेको छ ।
यसरी सार्वजनिक गरिएका तस्वीरमा लाइफ ज्याकेट, सिटका भाग र इजिप्ट एअरलाई स्पस्ट बुझाउने वस्तुहरु रहेको बीबीसीले जनाएको छ । तर, विमानको ‘ब्ल्याक बक्स’ भने भेटिएको छैन ।
यता, विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ ।
विमानको ‘सिग्नल’ हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीयपार्टमा धुँवा फेलापरेको ‘एभिएसन हेराल्ड’ नामक विमान उद्योगको वेबसाइटले उल्लेख गरेको हो । तर, यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।
विमानको सन्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट प्राप्त ‘डाटा’को हवाला दिँदै उक्त वेबसाइटले यस्तो दाबी गरेको हो ।
अलेक्जेन्ड्रियाबाट २९० किलोमिटर टाढा विमानको भग्नावशेष र यात्रुका सामान फेलापरेको इजिप्टको सेना र त्यहाँको राष्ट्रिय विमान सेवाले जनाएको हो ।
फ्रान्सको प्यारिसबाट इजिप्टको कायरोका लागि उडेको विमानमा ६६ जना सवार थिए ।
कारापाथोस टापुनजिक ग्रीक, इजिप्ट, फ्रान्स र बेलायतका सेनाले विमानको खोजेका थिए ।
विमान राडारबाट सम्पर्कविहीन हुनुअघि २५ हजार फिटभन्दा माथिबाट खसेको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्