Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


धनुषा नर्सिङ कलेजका तत्कालिन निर्देशक यादवलाई दुई वर्ष जेल


0
Shares

धनुषा, जेठ ९ । विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ ।

उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स (धनुषा नर्सिङ कलेज) मा निर्देशक पदमा रहँदा विद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपसहित कजेलका सञ्चालक गायत्री देवीले मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दर्ता भएको दुई वर्षपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलासबाट आज फैसला भएको हो । अदालतको फैसला अनुसार सञ्जीवले दुई वर्ष जेल सजाय, रु ४७ लाख ५२ हजार ६०० बिगो र त्यतिनै रकम जरिवाना बुझाउनुपर्नेछ ।

कलेज सञ्चालनका लागि नियुक्त गरिएका निर्देशक सञ्जीवले विद्यार्थी भर्ना तथा शुल्कको नाउँमा नक्कली रसिद दिएर रु ५३ लाख असुल गरी बैंकमा दाखिला गरेका थिएनन् । शुल्कको नाममा ठगी गरी फरार भएलगत्तै कलेजबाट उनलाई निष्कासन गरिएको थियो । यो विवादले कजेलको पठनपाठन समेत केही समय प्रभावित बनेको थियो । (रासस)