
प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, वैशाख २६ । हरेक सरकारले कृषिमा आत्मनिर्भर हुने नारा तय गर्छन् । उत्पादनमा त यसैपनि आत्मनिर्भर हुन सकिएको छैन नै, बीउ–विजनको ठूलो हिस्सा पनि आयात गर्नुपरिरहेको छ ।
देशमा खपत हुने बीउ–विजनमध्ये करिब ८० प्रतिशत विभिन्न मुलुकबाट आयात हुने गरेको छ ।
गत वर्षमात्रै डेढ अर्ब रुपैयाँको बीउ आयात भएको थियो ।
खुला सीमानाका कारण छिमेकी मुलुक भारतबाट भन्सार नै नगराइ बीउको ठूलो परिमाण भित्रने गरेको जानकारहरु बताउँछन् ।
आयात हुनेमा धान, मकै, तरकारीका बीउ नै प्रमुख छन् ।
मुलुकमा बीउ नै उत्पादन नभएर आयात गरिने भने होइन । ३५ भन्दा बढी कम्पनीले वार्षिक ३० हजार टन बीउ उत्पादन गरिरहेका छन् ।
तर, ‘हाइब्रिड’ जातका बीउ उत्पादन हुन नसक्नु र किसानमा विदेशी तथा हाइब्रिड जातकै बीउप्रतिको आकर्षण बढी हुनुले पनि आयातमा कमी आउन नसकेको बीउ–विजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाइँ बताउँछन् ।
मुलुकमा अन्य उन्नत बीउ उत्पादनको स्थिति सन्तोषजनक रहेपनि हाइब्रिड बीउ उत्पादन सुरु नगरेसम्म आत्मनिर्भर बन्न समय लाग्ने हुमागाइँ बताउँछन् ।
बीउ–विजन गुणस्तर नियन्त्रण केन्द्रकाअनुसार यस वर्ष राष्ट्रिय बीउ–विजन समितिबाट ४४ जातका बाली तथा जातहरु रजिस्टर भएका छन् ।
रजिष्टर हुनेमा १३ बालीका ४४ जात छन् । त्यसमध्ये चारओटामात्र स्वदेशी जातका बीउ रहेका छन् ।
यस वर्ष रजिस्टर भएका विदेशी बालीहरुमा धान, काउली, बन्दा, बोडी, टमाटरलगायतका छन् भने स्वदेशीमा शखरखन्ड, बदाम, तोरी र राजमा छन् ।
प्रतिक्रिया दिनुहोस्