७ असार २०८२, शनिबार | Sat Jun 21 2025


काभ्रेको दुई सय स्थानमा पिउनेपानीको मूल सुक्यो


0
Shares

बनेपा, जेठ १० । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपछि १९७ स्थानमा पिउनेपानीको मूल सुक्दा स्थानीयबासीले सास्ती खेपेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको पहलमा गाविस सामाजिक परिचालकद्वारा गरिएको पछिल्लो सर्वेक्षणले जिल्लाको १७४ स्थानमा पिउनेपानीको मूल सुकेपछि पिउनेपानीको वैकल्पिक स्रोत उपभोग भएको छ ।

काभ्रेपलाञ्चोकको चन्डेनीमन्डन, तिमाल, कोसीपारिलगायतका क्षेत्रका विभिन्न गाविसमा रहेका पिउनेपानीको स्रोत सुकेकाले थप वैकल्पिक स्रोत खोजी गरिदिन स्थानीयबासीले अनुरोध गरेका छन् ।

डिभिजन कार्यालय, धुलिखेलले दिएको एक तथ्यांकअनुसार ४१७ पिउनेपानीको मूलमा पानीको स्रोत घटेको छ भने १८१ ठाउँमा पानीको वैकल्पिक स्रोतसमेत छैन ।

‘पानीको मुहान सुकेको छ तर कुन–कुन ठाउँको भन्ने विषयमा विश्लेषण भएको छैन’–सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले भने ।

उनले पिउनेपानीको सोत सुकेको ठाउँमा के गर्ने भन्ने विषयमा ठोस प्रगति हासिल नभएको उल्लेख गर्दै जिल्लाभर नै पिउनेपानीको अवस्थाबारे प्राविधिकसहित सम्भाव्यता अध्ययन गरिने बताए ।

काफ्लेले पिउनेपानीको समस्या समाधान गर्न कतिपय स्थानमा सहुलियत दर वा अनुदानमा आकासेपानीको संकलन प्रविधि भित्र्याउने विषयमासमेत छलफल भएको जानकारी दिँदै कुनैपनि नीतिगत निर्णय नभएको बताए । रासस