
अर्घाखाँची, वैशाख २६ । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको जंगलमा लागेको डढेलोले शीतगंगावासी त्रसित बनेका छन । शीतगंगा नगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको छ ।
वनमा लागेको आगो जुनसुकै बेला बस्तीमा फैलन सक्ने भन्दै स्थानीयबासी रातिसमेत राम्रोसँग सुत्न सकेका छैनन् । शीतगंगा नगरपालिकाको ४, ६, ७, ८, ९, १० र १३ वडाका अधिकांश वनमा अहिले डढेलो लागिरहेको छ ।
वडा नम्बर–८ को फुर्के सल्लीमा गत मंगलबार वनमा लागेको डढेलो बस्तीमा पस्दा तीन घर जलेर पूर्णरुपमा नष्ट भई करीव १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने कयौं घरहरु उच्च जोखिममा छन् ।
करीब ८० प्रतिशत भूभाग वनले ढाकेको, धेरैजसो घरहरु खरको छाना भएकाले पनि यस क्षेत्रमा आगलागीको उच्च जोखिम छ । यस क्षेत्रमा वर्षेनि हुने आगलागीका कारण कयौँ मानिस घरवारविहीन हुने गरेका छन् भने वनमा रहेको करोडौ मूल्य बराबरका काठ जलेर नष्ट हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्