
काठमाडौं, जेठ १० । राष्ट्रिय सूचना आयोगले सिंहदरबारभित्र रहेका सार्वजनिक निकायहरुलाई नागरिकले खोजेको सूचना सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश दिएको छ ।
आयोगले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सिंहदरबारभित्र रहेका कार्यालयहरुले सूचना दिन इन्कार गरेमा कार्यालय प्रमुखसमक्ष सहजरुपमा उजुरी पुग्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।
सूचना आयोगले निर्वाचन आयोगमा दर्ता भएका एक सय ८० ओटै राजनीतिक दलको नाममा तीन/तीन महिनामा विवरण सार्वजनिक गर्न, सूचना अधिकारी तोक्न र सूचना माग एवं प्रवाहको अद्यावधिक विवरण राख्नसमेत आदेश जारी गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी, लोकसेवा आयोगको नाममा परीक्षार्थीहको प्राप्तांक उपलब्ध गराउन पनि आदेश जारी गरिएको जानकारी दिइयो ।
यस्तै, आयोगले ७५ ओटै जिल्लाका स्थानीय विकास अधिकारीको नाममा जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिको वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गर्नसमेत आदेश दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्