७ असार २०८२, शनिबार | Sat Jun 21 2025


नयाँ न्यूनतम् पारिश्रमिकका लागि मिडिया सोसाइटीले राख्यो यस्तो ‘शर्त’, पढाइ स्नातक अनिवार्य


0
Shares

काठमाडौं, जेठ १० । छापा तथा विद्युतीय सन्चारमाध्यमहरुको छाता संगठन नेपाल मिडिया सोसाइटीले सोमबार सन्चारमन्त्री शेरधन राईसँग भेटेर मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम् पारिश्रमिक अहिलेको अवस्थामा लागू गर्नु व्यवहारिक नहुने जिकिर गरेको छ ।

साथै, सोसाइटीले न्यूनतम् पारिश्रमिकको नयाँ प्रस्ताव लागू गर्नका लागि आफ्ना सरोकारसमेत अघि सारेको छ ।

जसअनुसार पत्रकारहरुको न्यूनतम शैक्षिक योग्यता स्नातक र तीन वर्षको पत्रकारिता अनुभव हुनुपर्ने, पूर्णकालीन पत्रकारहरुको हकमामात्रै न्यूनतम् पारिश्रमिक लागू हुनुपर्ने र एकभन्दा बढी मिडिया वा संस्थामा काम गर्नेका हकमा उक्त प्रस्ताव लागू गर्न नसकिने माग सोसाइटीले गरेको छ ।

यस्तै, सेवा छोड्नुपर्दा कम्तिमा ३५ दिनअगावै लिखित राजीनामा पेश गर्नुपर्ने अन्यथा भुक्तानी हुन बाँकी तलब, भत्तालगायतका सुविधा नपाउने व्यवस्था हुनुपर्ने र एउटा सन्चारगृह छोडेर अर्कोमा जानुपूर्व सेवामा रहेको सन्चारगृहबाट लिखित पूर्वस्वीकृित सहमति लिनुपर्ने माग पनि मिडिया सन्चालकहरुको रहेको छ ।

त्यसैगरी, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई दिने गरेको बजेट बराबरकै रकम निजी क्षेत्रका सोही प्रकृतिका सन्चारमाध्यमहरुलाई पनि दिनुपर्ने, सन्चारक्षेत्रलाई सेवामूलक विशेष उद्योगको मान्यताअनुरुपको सुविधा दिनुपर्ने र सन्चारगृहलाई बैंकहरुले सहुलियत कर्जा दिनुपर्ने माग पनि मिडिया सोसाइटीको रहेको छ ।

यस्तै, विभिन्नखाले कर सुविधा पनि माग गर्दै सोसाइटीले आफ्ना सरोकारहरुको सम्बोधन भएमा २०७४ साउनदेखिमात्रै प्रस्तावित नयाँ पारिश्रमिक लागू गर्न सकिने जानकारी सन्चारमन्त्रीलाई गराएको छ ।

सो अवसरमा मन्त्री राईले मिडिया सन्चालकहरुको समस्याप्रति आफू गम्भीर रहेको भन्दै छलफलबाट समस्या समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको मिडिया सोसाइटीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।