१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


हिमालय एअरलायन्सको पहिलो व्यवसायिक उडान दोहा, ‘५ वर्षभित्र १५ ओटा एअरबस ल्याउने तयारी’


0
Shares

काठमाडौं, जेठ १० । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलायन्सले कतारको दोहाबाट पहिलो व्यवसायिक उडान सुरु गर्ने भएको छ ।

नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित एअरलायन्सले यही मे ३१ (जेठ १८) गतेदेखि दोहामा नियमित उडान सुरु गर्ने भएको हो ।

कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नियमित उडान सुरु गर्न लागेको जानकारी गराएको हो ।

कम्पनीले ८ विजनेस र १ सय ५० इकनमी क्लाससहित जम्मा १ सय ५८ सिट क्षमता रहेको एअरबस ३२० विमानबाट काठमाडौं–दोहा–काठमाडौं उडान सुरु गर्न लागेको हो ।

एअरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनी प्रतिस्पर्धी मूल्यमा सुरक्षित, भरपर्दो सेवाका लागि प्रतिबद्ध रहेको बताए ।

ठीक समयमा उडान गर्ने आफूहरुको संस्कृति नै भएको पनि उनले दाबी गरे ।

एअरलायन्सले क्लियोपेट्रा ट्राभल्सलाई कतारका लागि जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ ।

निकट भविश्यमै ‘वाइड बडी’ विमानहरुसमेत ल्याएर सेवा विस्तार गरिने कम्पनीले जनाएको छ । चीन र भारतमा यसै वर्ष उडान विस्तार गर्ने योजनामा कम्पनी छ ।

महाप्रबन्धक राजु केसीले कम्पनी आफ्ना तर्फबाट उडानका लागि सम्पूर्णरुपमा तयार रहेको तर उड्डयन क्षेत्रमा अनुमति प्रक्रियाका लागि समय लाग्ने हुनाले ढिला भएको बताए ।

कम्पनीले ५ वर्षभित्र १५ ओटा एअरबस जहाज ल्याएर अन्तर्राष्ट्रिय महत्वपूर्ण गन्तव्यहरुमा सेवा विस्तार गर्ने तयारीमा रहेको जनाइएको छ ।