
काठमाडौं, जेठ ११ । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत अस्थायी टहरामा रहेका पीडितलाई वर्षाअघि नै सामूहिक आवास सुविधा दिन नेपाली सेनाले जिम्मेवारी पाउने भएको छ ।
पुनर्निर्माणको काम सुरु हुन ढिलो भएकामा पीडितबाट व्यापक गुनासो आइरहँदा छिटो काम सक्न सेनालाई जिम्मेवारी दिन लागिएको हो । स्रोतअनुसार सेनाले एक महिनाभित्र सयवटा सामूहिक आवास निर्माण गरिसक्ने छ ।
भूकम्प गएको वर्षदिन हुँदासमेत सरकारले पुनर्निर्माणको ठोस काम सुरु गरेको छैन ।
फास्ट ट्र्याकमा काम सुरु गर्नुपर्ने हुँदा सेनाको सहयोग आवश्यक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्टेयरिङ कमिटी सदस्य तथा पूर्व सचिव किशोर थापाले जानकारी दिए ।
भूकम्प पीडितले तत्काल घर निर्माण गर्न नसक्ने अवस्था देखिएकाले उनीहरुलाई निश्चित समयसम्म सरकारी आवासमा राख्न सरकारले सामूहिक आवास योजना ल्याएको हो ।
ग्रामीण तथा उच्च पहाडी क्षेत्रका भूकम्प पीडितलाई पालबाट बाहिर ल्याउन सामूहिक आवास बनाउने र त्यसको जिम्मा सेनालाई दिने सहमति भएको रक्षा मन्त्रालय उच्च स्रोतले जनायो । – नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्