
-यादब आचार्य, ईमेज
बर्दिया, जेठ ११ । हिउँदे वर्षा नभए पनि यस वर्ष बर्दियामा गहुँको उत्पादन बढेको छ । तराई बन्द, भारतीय नाकाबन्दीका कारण इन्धन अभावकै बीच गहुँ खेती गरेका किसानले ४३ वर्ष यताकै बढी गहुँ उत्पादन गरेका हुन् ।
कतिपय खेतीयोग्य जमिन बाँझो रहे पनि उत्पादकन बढेपछि यहाँका किसान हर्षित भएका छन् । तराईमा भएको आन्दोलन देखाउँदै भारतले गरेको अघोषित नाकावन्दी, हिउँदे खडेरीका वावजुद पनि बर्दियामा गहुँको उत्पादन बढेको हो ।
पेट्रोलियम पदार्थको अभावसँगै खेती योग्य जमीन वाँझो र हिउँदमा पानी नपरेपछि गहुँको उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरे पनि गहुँमा रोगको प्रकोपजन्य महामारी नभएपछि आश्चर्यजनक रुपमा उत्पादकत्वमा बृद्धि भएको हो ।
आर्थिक वर्ष २०७१/७२ मा १८ हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । जसमा ३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वसँगै ५५ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा भने १७ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा ३ दशमलव ४ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व सहित ५९ हजार ७ सय ५५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । ९ सय २५ हेक्टर क्षेत्रफल जमीन घटेपनि साढे ७ प्रतिशत गहुँको उत्पादन बढेको छ ।
प्रतिक्रिया दिनुहोस्