७ असार २०८२, शनिबार | Sat Jun 21 2025


लुम्बिनी–कपिलवस्तु विश्व अभियान बेल्जियममा आचार्य


52
Shares

बेल्जियम, जेठ ११ । विश्वव्यापी रुपमा १ डिसेम्बर, २००९ देखि संचालित ‘लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियम’को अध्यक्षमा दामोदरप्रसाद आचार्य निर्वाचित भएका छन् ।

विश्व शान्तिका अग्रदुत गौतम बुद्धको शान्ति र अहिंसाको सन्देशहरुको प्रचार–प्रसार र बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर भएका गलत भ्रमहरुलाई चिरेर विश्व जगतलाई तथ्यपूर्ण सन्देश सुसुचित गर्ने उद्देश्यले अभियान संचालन गरिएको हो ।

बेल्जियमको लुभेनमा सम्पन्न अभियानको प्रथम अधिवेशनबाट आचार्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अभियानको प्रथम अधिवेशनबाट आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यकारी समिति र ३ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ ।

निर्वाचित हुनेहरुमा उपाध्यक्षमा अनिता लामा, महासचिव नन्दराज घले, सचिव गीर्ट कात्रिसे, कोषाध्यक्ष बाबुराम शर्मा छन् ।

त्यसैगरी सदस्यहरुमा, रजनी प्रधान, युवराज गुरुङ, बेर्नार्ड ब्राइम, सीता सापकोटा, कल्पना मगर, सीमा सुवेदी, दुर्गा भट्टराई, रामचन्द्र सुवेदी, श्रीराम प्रसाई, सौरभ कारंजित, जोगमान तामाङ्ग र पिडी शेर्पा रहेका छन् । सल्लाहकारमा जानकी गुरुङ, सुरेन्द्र भुसाल र गैर आवासीय नेपाली संघ, बेल्जियमका अध्यक्ष गंगाधर गौतम पदेन सल्लाहकार चयन भएका छन् ।

संसदीय अभ्यास सम्वन्धी कार्यक्रमकालागि फिनल्याण्ड आएका नेकपा एमालेका नेता एंव सांसद विकाश लम्साल र नेपाली राजदुतावास बेल्जियमका कार्यवाहक राजदुत घनश्याम भण्डारीले संयुक्तरुपमा अभियानको प्रथम अधिवेशन उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसद लम्सालले विदेशमा गरिने यस्ताखाले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत भण्डारीले बुद्ध दर्शनबारे चर्चा गर्दै लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजका प्रमुख कार्यकारी अधिकृत एक्सेल गुथाल्स, एक्टिभ इन्टरनेशनल फेडेरेसन बेल्जियमकी निर्देशक वेन्दी स्लान्देर्स, एनआरएनए, केन्द्रिय सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, बेल्जियम एसिया फोरमकी अध्यक्ष लीला शर्मा मानन्धरले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बेल्जियमस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता अभियानका संयोजक विमल गिरीले गरेका थिए । लुम्बिनी–कपिलवस्तु विश्व दिवस अभियानका युरोप सल्लाहकार एवं यस प्रथम अधिवेशनका संयोजक दामोदरप्रसाद आचार्यले अभियानको गतिविधि र हासिल गरेका मुख्य उपलब्धिका साथै आगामी कार्यक्रमका बारेमा प्रकाश पार्दै लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा बेल्जियमको राजधानी ब्रुसेल्स्मा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा महाभूकम्प गएका कारण र दोस्रो पटक आतंकवादीहरुको पेरिस आक्रमणपछि सुरक्षा खतराका कारण बेल्जियम सरकारले रोक लगाएका कारण स्थगित भएको जानकारी दिंदै अन्तर्राष्ट्रिय सम्मेलन अभियानको आठौँ वार्षिकोत्सवको सन्दर्भमा आगामी २७ नोभेम्बर २०१६ का दिन गर्ने गरि गृहकार्य भईरहेको जानकारी दिए ।

सन् २७ अक्टोबर, २०१० मा पहिलो पटक लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका विश्व समिति सल्लाहकार प्रोफेसर डा. कविताराम श्रेष्ठको उपस्थितिमा लुम्बिनी(कपिलबस्तु दिवस अभियान, बेल्जियम राष्ट्रिय समितिको गठन गरिएको थियो ।