
काठमाडौँ, जेठ ११ । कानुन कार्यान्वयन गर्ने प्रहरीलाई कानुन उल्लङ्घन गर्नेमाथि जरिवाना तिराउनका लागि प्याड छाप्न आर्थिक अभाव होला रु नहोला ।
अहिले महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौँलाई भने सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि जरिवाना तिराउन प्रयोग हुने प्याड छपाउन अर्थ अभाव देखिएको छ । “खोजखाज र तानतुन गरी केही प्याड छपाइ गर्यौँ, अब केही बाँकी होला, थप छपाउन पैसा छैन” परिसरका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले भने ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अनुसन्धान एवम् सचेतना जगाउन सक्रिय एक्सन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक थापाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि परिसरले अभियान नै सञ्चालन गरी जरिवान तिराई उनीहरुलाई थप सचेत गराउने कार्य गरिरहेको जानकारी दिए ।
पाँच महिनाका अवधिमा सोबापत परिसरले रु सात लाख जरिवान रकम सङ्कलन गरेको छ । सार्वजनिकस्थलमा विशेष गरी धूमपान गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई रु १०० जरिवाना तिराउँदै छाड्ने गरेको छ । यसका लागि परिसरले हाल दैनिक ४० टोली परिचालन गरिरहेको छ ।
टोलीले सुर्तीजन्य पदार्थका कारण हुने अर्बुद रोगका बारेमा प्रारम्भिक परामर्श दिइरहेको र सरकारी तथा निजी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । “हाम्रो अभियानको उद्देश्य भनेको कलम, कापी र किताब बोक्ने युवाले औँलामा चुरोटको खिल्ली नसमातून् भन्ने नै हो, यसका लागि प्रहरी सचेतपूर्वक काममा जुटिरहेको छ”, थापाले भने ।
कार्यक्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई जरिवाना तिराउने र सचेत गराउने कार्य आगामी दिनमा पनि जारी नै राखिने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक रुपमा अर्बुद रोगीको सिफारिस माग्न आठ नौ जना पुग्ने गर्छन् । यस्ता रोगीलाई उपचार गर्न सरकारले रु एक लाख आर्थिक अनुदान दिने गर्छ । प्रजिअ रामकृष्ण सुवेदीले अर्बुद रोगीको सिफारिस पाऊँ भनी कार्यालयमा आएका रोगीको अवस्था देखेर सार्वजनिकस्थलमा चुरोट पिउने कार्यलाई नियन्त्रण गर्ने अभियान सञ्चालन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्